कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको केन्द्रीय र शैक्षिक प्रशासनमा तालाबन्दी

जुम्ला, २९ असोज । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तेस्रो डिन नियुक्त गरिएको विषयमा केन्द्रीय तथा शैक्षिक प्रशासनसहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ।
प्रतिष्ठानका उपकुलपति प्राडा. राजेन्द्रराज वाग्लेले आवश्यकता नभएकै समयमा नियमविपरीत थप अर्का डिन नियुक्त गरेका भन्दै प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका हुन्। कर्णाली प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले तेस्रो डिनको नियुक्ति फिर्ता लिन माग गर्दै उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रारको कार्यालयको मूलढोकामा तालाबन्दी गरेको छ।
समाजका अध्यक्ष रामाकान्त उपाध्यायले विज्ञप्ति जारी गर्दै अनियमित तरिकाले नियुक्त गरिएका जनस्वास्थ्य सङ्कायका डिनलगायत सम्पूर्ण फजुल नियुक्ति खारेज गरिनुपर्ने, यसअघिका माग पूरा गर्नुपर्ने, कोरोनामा खटिने सम्पूूर्ण चिकित्सक कर्मचारी र कर्मचारीको जोखिमभत्ता उपलब्ध गराइनुपर्ने माग गरिएको छ। प्रतिष्ठानका दुईवटा डिनले काम नपाएको समयमा तेस्रो जनस्वास्थ्य सङ्कायको डिनको पद सिर्जना गरी प्रा डा. मुनिराज क्षेत्रीलाई नियुक्त गरिएको विषयमा कर्मचारीले विरोध गरेका छन्।
प्रतिष्ठानमा यसअघि सरस्वती गौतम र डा. रेशमबहादुर राना डिन नियुक्त भइसकेका छन्। असोज २६ गते जनस्वास्थ्य डिन पदमा प्रा. डा. मुनिराज क्षेत्रीलाई नियुक्त गरिएको पत्र प्राप्त भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ। फागुन महिनामा उपकुलपति वाग्लेको पदावधि सकिँदैछ। रासस