आईसीयू र भेन्टिलेटर अभाव हुन नदिन सरकारले कुन-कुन अस्पताललाई पठायो बजेट ?

काठमाडौं, २८ असोज । सरकारको कोरोना परीक्षण सम्बन्धी निर्देशिका पाँचौ संशोधन जारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको संशोधित निर्देशिका अनुसार असहाय, गरिब, विपन्न वर्ग, अति अपांगता भएका, असहाय एकल महिलाहरुको लक्षणसहितको निःशुल्क कोरोना परीक्षण गरिने छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले निः शुल्क कोरोना परीक्षणका लागि माथि उल्लेखित कुरा भएको अवस्थामा यदि कोरोना बीमा गरिएको छ भने बीमाको रकमबाट कोरोना परीक्षण र उपचार गरिने बताए ।
यस्तै साउन २२ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार कोशी, भेरी, नारायणी, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, डडेल्धुरा अस्पतालमा ५ भेन्टिलेटर र १५ आईसीयूका लागि ३ करोडका दरले र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ भेन्टिलेटर र १० आईसीयूका लागि २ करोड गरि २० करोड बजेट निकासा गरिएको छ ।
प्रवक्ता गौतमले भदौ २१ गते कोभिड १९ कोषको बैठकले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १० भेन्टिलेटर र १४ आईसीयूका लागि ५ करोड ७५ लाख, धुलिखेल अस्पताल धुलिखेलमा ५ भेन्टिलेटर र १४ आईसीयूका लागि २ करोड ८५ लाख, नेपाल प्रहरी अस्पतालमा २० आईसीयू भेन्टिलेटरसहितका लागि ८ करोड ४० लाख बजेट निकासा गरिएको जानकारी गराए ।
यस्तै धनकुटा, पाँचथर, सर्लाही, गौर, नुवाकोट, धादिंग, दमोली, कपिलवस्तु, अर्घाखाँची, महाकाली, टिकापुर, कालिकोट र सल्यान अस्पतालमा ४ भेन्टिलेटर र १० आईसीयूका लागि २ करोडका दरले २८ करोड बजेट निकासा गरिएको छ ।
यसैगरि चौर जहारी र दैलेख अस्पतालमा स्वास्थ्य उपकरण खरिद र प्रयोगशाला व्यवस्थापनका लागि ५० लाखका दरले १ करोड, शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा कोभिड १९ सम्बन्धी व्यवस्थापनका लागि १ करोड र नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई कोरोनासँग सम्बन्धी अध्ययन अनुसन्धानका लागि २ करोड बजेट निकासा गरिएको छ ।