लुम्बिनी प्रदेशसभाका उपसभामुख कृष्णी थारुमा कोरोना संक्रमण
सचिवालयको कन्ट्रयाक्ट ट्रेसिङमा ३३ जनामा कोरोना

रुपन्देही, २८ असोज । लुम्बिनी प्रदेशसभाका उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण पुष्टि भएको छ । थारुले मंगलबार सामाजिक सञ्जालमा आफूमा कोरोना संक्रमण भएको बताएकी छिन् ।
उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई सर्तक रहन समेत सामाजिक सञ्जाल मार्फत आग्रह गरेकी छिन् । यसअघि सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोना पनि संक्रमण देखिएको थियो भने लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई पनि कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा छन् ।
प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीलाई पनि कोरोना पुष्टि भएको छ । यसैगरि उद्योग, पर्यटन समितिका सभापति दधिराम शर्मालाई कोरोना पुष्टि भएको छ । प्रदेशसभाका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएको सचिवालयले जनाएको छ । प्रदेशसभामा गएका केहि पत्रकारहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
सचिवालयले गरेको कन्ट्रयाक ट्रेसिङमा ३३ जनामा कोरोना संक्रमण
सभामुख, मन्त्री र केहि सांसदहरुलाई कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सचिवालयले गरेको कन्ट्रयाक्ट ट्रेसिङमा ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेशसभा सदस्य, कर्मचारी, मर्यादा पालक तथा सुरक्षाकर्मी गरि ९५ जनाको पिसिआर परीक्षण गरिएको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए । कार्तिक ६ गतेसम्मका लागि सचिवालय बन्द गरेको छ ।