भरतपुर अस्पतालमा उपचार गरिएका मध्ये ८१ प्रतिशतले जिते काेराेना, ५५ जनाकाे उपचार चल्दै

चितवन, २६ असाेज । चितवनस्थित भरतपुर अस्पतालमा उपचार गरिएका मध्ये ८१ प्रतिशतले काेराेना भाइरस (काेभिड-१९) संक्रमणलाई जितेका छन् ।
अस्पतालमा उपचार गरिएका ४ सय ३ जना संक्रमित मध्ये अहिलेसम्म तीन सय २६ जनाले संक्रमणलाई जितेर स्वस्थ भएर घर फर्किएका अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले जानकारी दिए । उनका अनुसार अहिले अस्पतालमा ५५ जना सक्रिय संक्रमितकाे उपचार चलिरहेकाे छ ।
भरतपुर अस्पतालमा उपचार गराइएका मध्ये अहिलेसम्म २२ जनाकाे मृत्यु भएकाे पाैडेलले बताए । यसरी मृत्यु हुनेमा केही अन्य अस्पतालबाट रिफर भएर आएका त केही अन्तिम अवस्थामा अस्पताल आएका मध्ये बढी छन् । यसरी भरतपुर अस्पतालमा उपचार गराउनेमा चितवन लगाएत विभिन्न बाहिरी जिल्लाका बिरामी समेत छन् ।
यस्तै, स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार साेमबार दिउँसोसम्म जिल्लामा सक्रिय संक्रमितकाे संख्या एकहजार ९७ पुगेकाे छ । त्यसमध्ये ७ सय ५४ जना हाेम आइसाेलेसन र ३ सय ४३ जना संस्थागत आइसाेलेसनमा रहेका छन् ।
साेमबार दिउँसोसम्म जिल्लामा संक्रमितको संख्या दुई हजार सात सय ६४ जना पुगेको छ । जसमध्ये जिल्लाभर अहिलेसम्म एकहजार ६ सय ३२ जना काेराेना भाइरस (काेभिड-१९) संक्रमणमुक्त भएका छन् ।
भरतपुर महानगरपालिकामा सबैभन्दा बढी संक्रमित छन् भने इच्छाकामना गाउँपालिकामा सबैभन्दा कम छन् । भरतपुर महानगरपालिकामा एक हजार ८ सय २३ जना संक्रमित मध्ये एक हजार २९ जना निकाे भएका छन् ।
त्यसैगरि रत्ननगर नगरपालिकामा ३ सय ८८ संक्रमित मध्ये दुई सय ६० जना निकाे भएका छन् । राप्ती नगरपालिकामा १ सय ७६ संक्रमित मध्ये एक सय २६ जना निकाे भएका छन् । खैरहनी नगरपालिकामा २ सय ७ संक्रमित मध्ये ९० जना निकाे भएका छन् । कालिका नगरपालिकामा ८६ संक्रमित मध्ये ५९ जना निकाे भएका छन् । माडी नगरपालिकामा ६७ संक्रमित मध्ये ५६ जना निकाे भएका छन् । त्यस्तैगरी इच्छाकामना गाउँपालिकामा १७ संक्रमित मध्ये १२ जना निकाे भएका छन् ।
चितवनमा संक्रमित हुनेमा महिला भन्दा पुरूष बढी छन् । अहिलेसम्म एक हजार ६ सय ६१ जना पुरूष र एक हजार एक सय ३ जना महिलामा संक्रमण पुष्टि भएकाे हाे ।
जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ३५ जनाकाे मृत्यु भइसकेकाे छ । मृत्यु हुनेमा २२ जना भरतपुर महानगरपालिका भित्रका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा अहिलेसम्म संक्रमितकाे मृत्यु नभएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।