डा.केसीले सत्याग्रहको २८ औं दिनमा अनसन तोडे

काठमाडौं, २५ असोज । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले २८ औं दिनमा अनसन तोडेका छन्।
शनिवार मध्यराति सरकार र केसी पक्षबीच ८ बुँदे सहमति भएपछि आइवार बिहान १०ः१२ बजे डा. केसीले अनसन तोडेका हुन्। उनले कोरोना संक्रमण मुक्त भएको अस्पतालका कर्मचारी ४६ वर्षीय विकास नेपालीले जुस खुवाएरअनसन तोडाएका हुन् ।
सरकार र डा. केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन । शुक्रबार रातिको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीलाई भेटेपछि वार्ता टोलीले डा. केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।
प्रधानमन्त्री ओलीले आन्तरिक रूपमा आईओएमकी डिन डा. दिव्यासिंह शाहमार्फत डा. केसीसँग संवाद अघि बढाएका थिए ।