चितवनमा काेराेना संक्रमणबाट मृत्यु हुनेमा महिलाभन्दा पुरूष तीनगुणा बढी

चितवन, २५ असाेज । चितवनमा काेराेना संक्रमणबाट मृत्यु हुनेमा महिला भन्दा पुरूष तीनगुणा बढी छन् ।
शनिवारसम्म जिल्लाका ३२ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनले मृत्यु हुनेमा २४ जना पुरूष र ८ जना महिला रहेकाे बताए । यसाे त संक्रमित हुनेमा पनि महिलाभन्दा पुरूष नै बढी छन् ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिकामा सबै भन्दाबढी छ । यहाँ मृत्यु हुनेकाे संख्या १९ छ । जुन जिल्लाभर मृत्यु भएका कुल संख्याकाे ५९ प्रतिशत हाे ।
त्यसैगरी राप्ती नगरपालिकामा ५ जना, रत्ननगर नगरपालिकामा ४ जना, खैरहनी र कालिका नगरपालिकामा समान २/२ जना छन् । माडी नगरपालिका र जिल्लाकाे एकमात्र गाउँपालिका इच्छाकामनामा अहिलेसम्म काेराेना संक्रमितबाट कसैकाे पनि मृत्यु भएकाे छैन ।
शनिवारसम्म जिल्लाका संक्रमितको संख्या २७ सय हाराहारी छ । जसमध्ये १ हजार ५ सय ३५ जना काेराेना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएकाे छ । सक्रिय संक्रमितकाे संख्या समेत ११ सय नाघेकाे छ ।
सबैभन्दा पहिले चीनको वुहानबाट निस्किएको कोरोना भाइरस (कोभिड–१९) बारे चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा महिलाभन्दा पुरुषमा कोरोना भाइरसको जोखिम बढी रहेको उल्लेख छ । विश्वकाे तथ्याङ्क अनुसार पनि भाइरसको संक्रमण सबैभन्दा बढी पुरुषमा देखिएको छ । मृत्यु हुनेको संख्या पनि महिलाको तुलनामा पुरुषकाे नै धेरै छन् ।
महिलाकाे तुलनामा पुरुष बढी धुम्रपान र मदिरा सेवन गर्ने भएकाले पनि यस्तो भएको हुनसक्ने केही अध्ययनले बताएका छन् । त्यही कारण उनीहरुको रोग प्रतिरोधात्मक क्षमतामा पनि कमी आउँन सक्ने अध्ययनमा बताइएकाे छ । धुम्रपानले खासगरी फोक्सोमा नै असर गर्दछ । यसबारे विभिन्न अनुमान गरिएकाे भएपनि के र कस्ता कारणले यस्तो भएकाे हाे ? भन्ने बारे कसैले पनि आधिकारिक धारणा बाहिर ल्याउन सकेका छैनन् ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।