डा. केसी र सरकारबीच सहमति भएपछि चिकित्सकको आन्दोलन फिर्ता

काठमाडौ, २५ असोज । डा.गोविन्द केसीसँग सरकारले सहमति गरेपछि आवसीय चिकित्सकले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । अनशनको २७ औ दिनमा डा. केसी र सरकार पक्षबीच ८ बुँदे सहमतिको प्रशंसा गर्दै उनीहरुले आन्दोलनको कार्यक्रम फिर्ता गरेको विज्ञप्तिमार्फत जानकारी गराएका हुन्।
त्रि वि शिक्षण अस्पतालका नेसनल रेसिडेन्ट डाक्टर्स एसोसिएसन अध्यक्ष डा. सुभाष देवकोटा, न्याम्सका रेसिडेन्ट एसोसिएसन अफका अध्यक्ष डा. प्रकाश भट्टराई र सोसाइटी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेलफेयरका अध्यक्ष डा. राजेन्द्र घिमिरेले विज्ञप्तिमार्फत आन्दोलनको कार्यक्रम फिर्ता लिएको जनाएका छन्।
यस अगाडि आवासीय चिकित्सकले आइतबार इमर्जेन्सी र कोभिडबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय गर्दै नेपाल चिकित्सक संघको आन्दोलनका कार्यक्रममासमेत ऐक्यवद्धता जनाएका थिए।
भंग भइसकेको वार्ता चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिनसमेत रहेकी डा. दिव्यासिंह शाहकै पहलमा जोडिएर निष्कर्षमा पुगेको जनाइएको छ।
सरकार र डा. गोविन्द केसी पक्षबीच शनिबार मध्यराति ८ बुँदे सहमति भए पछि केहीबेरमा नै डा. केसीले अनशन तोड्दैछन् ।