चितवन मेडिकल कलेजमा उपचाररत थप दुई जना काेराेना संक्रमितकाे मृत्यु

चितवन, २५ असाेज । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप दुई जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा मकवानपुर जिल्लाकाे बागमती गाउँपालिका ६ की ८५ वर्षीया महिला र सर्लाही जिल्लाकाे हरिवन नगरपालिका १० का ३८ वर्षीय पुरुष रहेकाे अस्पतालका निर्देशक प्रा डा. दयाराम लम्सालले जानकारी दिए ।
उनका अनुसार मकवानपुर घर भएकी ती महिला उपचारको लागि असोज १५ गते अस्पतालमा भर्ना भएकी थिइन् ।
उनमा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएकाे थियो । ती महिलाको कोभिड आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनको शनिबार अपरान्ह ४ बजेर ५३ मिनेट जाँदा मृत्यु भएको डा. लम्सालले जानकारी दिए ।
यस्तै सर्लाहीका अर्का ३८ वर्षीय पुरुषको पनि शनिबार नै साँझ ५ बजेर ३३ मिनेट जाँदा मृत्यु भएको छ । उनी सडक दुर्घटनामा परी गम्भीर घाइते भई असोज ८ गते अस्पताल भर्ना भएका थिए ।
उनको जटिल प्रकारकाे शल्यक्रिया गरिएकाे थियाे । शल्यक्रिया पश्चात् असोज २१ गते बल्ल कोरोना संक्रमण पुष्टि भएको थियो । उनकाे कोभिड आईसीयूमा उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
उता भरतपुर महानगरपालिका १ का ४७ वर्षीय पुरुषकाे शनिवार नै साँझ ६ः३० बजे भरतपुर अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे थियाे । यसरी दुईवटा अस्पतालमा गरी शनिवार चितवनमा तीन जना संक्रमितकाे मृत्यु भएकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।