वीर, टिचिङ र बिपी प्रतिष्ठानका आवासीय डाक्टरले पनि आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने

काठमाडौं, २४ असोज । डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक संघले गर्ने आन्दोलनप्रति आवासीय चिकित्सकहरुले ऐक्यबद्धता जनाएका छन्।
डा. केसीका माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले संघले आइतबार देशभर कोभिड र आकस्मिकबाहकेका सबै सेवा बहिष्कार गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत् जानकारी गराएको थियो।
त्रिवि शिक्षण अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालका आवासीय चिकित्सकहरूले संघको आन्दोलनमा ऐक्यवद्धता जाहेर गरेका हुन्। नेशनल रेजिडेन्ट डाक्टर्स एशोसियसन, रेजिडेन्ट एशोसियसन अफ न्याम्स र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन्।
डा. केसीका माग सम्बोधन गर्न बिहीबार र शुक्रबार वार्ता भएपनि कुनै सहमति निस्कन सकेको छैन। बिहीबारको वार्तामा सहमतिको मस्यौदा तयार भएको भनिएपनि सरकारी पक्षले तयार पारेको सहमतिको मस्यौदाका विषयमा शिक्षामन्त्री र प्रधानमन्त्री पछि हटेको र डा केसीलाई मार्ने नियत राखेको डा केसी पक्षको वार्ता टोलीले आरोप लगाएको छ।
२६ दिनयता अनसनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ।