नेपालमा एकैदिन थपिए ५ हजारभन्दा बढी संक्रमित, १२ सयभन्दा बढी स्वस्थ

काठमाडौं, २४ असोज । नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमित पछिल्लो २४ घन्टामा थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १९ हजार ३ सय २० पिसिआर परीक्षण गरिएकोमा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै नयाँ संक्रमित थपिएको र नेपालमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको बताए ।
यस्तै पछिल्लो २४ घन्टामा थप १ हजार २ सय २९ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ७४ हजार २ सय ७७ पुगेको छ ।
हाल नेपालमा ३० हजार ८ सय १८ सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १३ हजार ६ सय ५४ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १७ हजार १ सय ६४ जना होम आइसोलेसनमा रहेका छन् ।