गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन नदिने चलखेल !



Download our app to get more features

धनगढी, २४ असोज । गेटा मेडिकल कलेजलाई एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठन अन्तरगत राख्ने सरकारले तयारी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले गेटा सहितका पाँच कलेजलाई स्वास्थ्य शिक्षा प्रतिष्ठान अन्तरगत रहनेगरी विद्येयकको मस्यौदा मन्त्रीपरिषद्मा पेश गर्दै उक्त तयारी थालेको हो ।

मन्त्रालयले गेटा मेडिकल कलेजलाई एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान अन्तरगत राख्ने गरी तयार पारेको विद्येयक मन्त्रीपरिषद्मा लगेपछि थप अन्यौलता सिर्जना भएको छ । गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँदै स्वायतत्ता कायम गर्नुपर्ने प्रदेशबासीले माग उठाइरहेका बेला शिक्षा मन्त्रालयले आफ्नो मातहत रहने प्रतिष्ठानमा राख्नेगरी विद्येयक ल्याएपछि स्वयतत्ता खोसिने आशंका गरिएको छ ।

गेटा मेडिकल कलेजलाई स्वास्थ्य मन्त्रालय अन्तरगत राख्दै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने नेपाली काँग्रेसका नेता समेत रहेका पूर्व सांसद हिरादत्त भट्टले बताए । ‘गेटालाई विश्वविद्यालय अन्तरगत नभएर एउटै छाता भित्र राख्नेगरी सरकारले विद्येयक ल्याएको छ’  भट्टले भने, ‘छाता ऐनले देशभरीका मेडिकल कलेजलाई हेर्ने निकायको परिकल्पना गरेको छ । गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर स्वतन्त्र हुनुदिनुपर्यो ।’

गेटा मेडिकल कलेजको प्रारुप बारे चासोहरु व्यक्त भईरहेका बेला आएको विद्येयकले प्रदेशबासीलाई थप ससंकित बनाएको छ । गत माघमा निर्माणाधिन मेडिकल कलेजको निरिक्षण गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विश्वास दिएका थिए ।

अहिले आएर शिक्षा मन्त्रालयले कलेजलाई आफ्नो मातहत ल्याउनेगरी विद्येयक ल्याएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठान हुन नदिन चलखेल सुरु भएको आशंका गरिएको छ । हुन त उक्त विद्येयक एकिकृत हो । तैपनि शिक्षा मन्त्रालयले आफ्नो मातहत राख्ने आशंका व्यक्त हुन थालेका हुन् ।

तर शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयका प्रवक्ता दिपक शर्मा भने अहिले मस्यौदा गरिएको एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान विद्येयक शिक्षा ऐन जस्तै मूल ऐन हुने बताउँछन् । उनले अहिले मस्यौदा गरिएको विद्येयक छलफलकै चरणमा रहेकाले यो वा त्यो निकायको मातहत रहने भन्ने कुरा त्यसपछि मात्र टुङ्गिने उनले शर्माले बताए ।

गेटालाई एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान अन्तरगत राखे परनिर्भर हुनुपर्ने सरोकारवालाहरुको भनाइ छ । तर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाईएमा कलेजको स्वायतत्ता कायम हुने र कुनै पनि निर्णयका लागि अरुको भर पर्न नपर्ने उनीहरुको धारणा छ ।

कतिपयले त एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान अन्तरगत नभएर मेडिकल कलेजलाई स्वतन्त्र निकायको रुपमा विकास गर्नुपर्ने माग गर्दै आएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको अवस्था बलियो भएको भए सोही विश्वविद्यालयबाट सम्बन्धन लिएर मेडिकल कलेजकै प्रारुपमा सञ्चालन हुँदा पनि ठुलै समस्या नहुने समेत बताउँदै आएका छन् ।

निर्माणाधिन मेडिकल कलेजका भौतिक संरचना निर्माणको काम करिब ७० प्रतिशत पूरा हुँदा समेत सञ्चालनको प्रारुपको टुङ्गो नलागेको हो । आउदो फागुन भित्र पूर्वाधार निर्माणको काम सकेर अर्को वर्षदेखि कलेज र अस्पताल सञ्चालन गर्ने तयारी गरिएपनि सरकारी अन्यौलता समस्या हुने देखिएको छ ।

गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक भीमबहादुर साउँदले आउँदो फागुन सम्म भौतिक पूर्वाधार निर्माणको काम पूरा हुने बताउँदै त्यो बेला सम्म मोडालिटी समेत तयार हुने विश्वास व्यक्त गरे ।

उनले अगामी वर्षदेखि  कलेज र अस्पताल सञ्चालन गर्ने तयारी भने भईरहेको जानकारी दिए । गेटा मेडिकल कलेज निर्माणको प्रक्रिया २०६५ सालदेखि थालिएको थियो ।

सरकारले तत्कालीन समयमा गेटालाई दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडी बढाउन विद्येयकको मस्यौदा बनाएको थियो । तर, संविधानसभा विघटन भएपछि काम अगाडी बढ्न सकेको थिएन भने २०७३ सालदेखि मात्रै मेडिकल कलेजको पूर्वाधार निर्माण थालिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts