डा केसी पक्ष र सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ, ३२ असोज । सरकारी वार्ता टोली र अनसनरत डा. गोविन्द केसी पक्षबीच सुरु भएको वार्ता बिना निस्कर्ष सकिएको छ ।
राति ९ बजेबाट सुरु भएको वार्ता बिना निस्कर्ष टुगिंएको डा.केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका हुन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै डा. केसी पक्षले आन्दोलन चर्काउने चेतावनी दिएको छ ।
पत्रकार सम्मेलनमा डा जीवन क्षेत्रीले सरकारले डा केसीको बारेमा सरकारले कुनै चासो नदिएको भन्दै आन्दोलन चर्काउने र यसबाट उत्पन्न हुने असहज परिस्थितिका लागि सरकार स्वयं जिम्मेवार हुने बताए ।
सरकार र डा. केसी पक्षबीचको बिहीबार र शुक्रबार भएको वार्ता निष्कर्षविहीन भएपछि डा केसी मरोस् भन्ने सरकारको नियत देखिएको आरोप लगाउँदै उनले सरकारले वार्ता गरेजस्तो गरेर छलछाम मात्र पारेको देखिएको आरोप लगाए ।
२६ दिनदेखि आमरण अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य झन् जटिल बन्दै गएको छ ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भन्दै सरकारी वार्ता टोलीले समय मागेको थियो । पछि आन्तरिक गृहकार्यका लागि भन्दै वार्ता स्थगित गरिएको थियो ।
बिहीबार दुई पक्षबीच करिब १० घण्टा केसीका मागबारे छलफल भएको थियो ।