चितवनमा ३ वर्षीया बालिकासहित थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, २३ असोज । चितवनमा ३ वर्षीया बालिकासहित थप १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर १० स्थित रहेको चितवन मेडिकल कलेज (सीएमसी) को कोरोना प्रयोगशालामा ७५ र भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा ३० गरी बिहीवार गरिएको परीक्षणमा थप एक सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमध्ये ७९ जना जिल्ला भित्रका छन् भने २६ जना बाहिरी जिल्लाका छन् ।
संक्रमित हुनेमा ६३ जना पुरूष र ४२ जना महिला रहेका छन् ।
संक्रमितहरु चितवनका ७९ जनामध्ये भरतपुर महानगरपालिकाका मात्रै ५६ जना छन् । बाँकी २३ जना अन्य विभिन्न पालिकाका रहेका छन् ।
बाहिरी जिल्लाका २६ जना कोरोना संक्रमितहरूमध्ये अधिकांश उपचारका लागि चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका विभिन्न जिल्लाका बिरामीहरू छन् ।
योसँगै जिल्लामा संक्रमितको संख्या २६ सय नाघेको छ । जसमध्ये स्वास्थ्य कार्यालय चितवनका अनुसार बिहीवारसम्म १ हजार ४ सय ६४ जना कोरोना संक्रमणमुक्त भई स्वस्थ भएका छन् । संक्रमण भएकामध्ये चितवनका हालसम्म ३० जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।