श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा मात्रै अस्पताल जानुस : मन्त्रालय

काठमाडौं, २१ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा बेहोस हुने सङ्केत देखिएमा र पिसाब नआएमा मात्र अस्पताल जान आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सामान्य रुघाखोकी तथा ज्वरो आउँदा अस्पताल नजान भनेका हुन् ।
अस्पतालमा उपचार गर्ने ठाउँ तथा जनशक्तिको अभाव तथा अस्पताल जाँदा भिडभाड भएर त्यहाँबाट कोरोना सर्न सक्ने सङ्क्रमितहरुले पायक पर्ने अस्पतालमा शय्या पाउन छाडेको र काठमाण्डौ उपत्यकाको भार अत्यधिक भएको बताएकाछन् ।
यस्तै, कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै बेड अभाव हुन थालेको बताएको छ । केही दिन यही दरमा सङ्क्रमित बढेमा उपत्यकाको भार थाम्न नसकिने भन्दै उनले स्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह पनि गरेकाछन् । कोरोना जनस्वास्थ्यको ठूलो समस्या रहेको भन्दै सबैको पहलबाट मात्र यो सङ्कट टार्न सकिने डा.गौतमले बताए ।
अहिले किनमेल गर्नेको भिड हेर्दा मानिसले कोरोना बिर्सिएको जस्तो लागेको भन्दै प्रवक्ता गौतमले चाडपर्व खल्लो नबनाउन आफू पनि सङ्क्रमण हुनबाट बच्न र परिवारलाई पनि बचाउन सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने मा जोड दिए ।
सरकारले यसअघि २५ हजार सक्रिय सङ्क्रमित भएमा सरकारले धान्न नसक्ने भन्दै लकडाउन गर्नुपर्ने बताएको थियो । बुधबार सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको छ ।