अछामको कमलबजार नगरपालिकामा पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा

अछाम, २१ असोज । अछामको कमलबजार नगरपालिकामा पिसिआर परीक्षण प्रयोगशालाको उद्दघाटन गरिएको छ ।
कोरोना भाइरसको परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालाको बुधबार अछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य यज्ञ बोगटीले उद्दघाटन गरेका छन् ।
कमलबजारको प्राथमिक स्वास्थ्य केन्द्रमा मेसिनको उद्घाटन गर्दै सांसद बोगटीले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अछाम तथा छिमेकी जिल्लाका स्थानीयलाई प्रयोगशालाले राहत पुग्ने बताए् । प्रयोगशालाको दिगो सञ्चालनका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने उनको भनाइ थियो ।
नगरपालिकाले करिब एक करोडको लागतमा प्रयोगशाला स्थापना गरी नमुना परीक्षण समेत सफल भएपछि मेसिनको आज उद्घाटन गरिएको गरिएको हो । नमूना परीक्षणमा १७ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको थियो ।
गत असोज १४ गते स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डाक्टर गुणराज अवस्थी सहितको टोलिले पिसिआर मेसिनको गुणस्तर तथा संचालनको तयारी र अन्य अवस्थाका बारेमा जानकारी लिएका थिए । टोलीले प्रयोगशाला गुणस्तरीय रहेको र सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो ।
५ लाखका स्वास्थ्य उपकरण समेत खरिद गरिएको र जिल्लाका अन्य स्थानीय तह तथा छिमेकी दैलेख जिल्लाका केही स्थानीय तहसंग समन्वय भइरहेको नगरप्रमुख ओमप्रकाश बिष्टले बताए । हालसम्म अछामकै ढकारी गाउँपालिकाले मेसिन स्थापनाका लागि ५ लाख सहयोग गरेको उनले बताए ।
हाल ५ जना कर्मचारी भर्ना गरेर मेसिन सञ्चालनमा ल्याइएको छ ।