नेपालमा थप ३ हजार ३ सय ३९ जना नयाँ सङ्क्रमित थपिए, निको हुनेको संख्या ६८ हजारभन्दा बढी

काठमाडौं, २१ असोज । नेपालमा थप ३ हजार ३ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १४ हजार २ सय ९ पिसिआर परीक्षण गरिएकोमा थप ३ हजार ३ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ९४ हजार २ सय ५३ पुगेको जानकारी दिए ।
यस्तै पछिल्लो २४ घन्टामा थप ११ सय २६ जना कोरोना सङ्क्रमित स्वस्थ भएको भन्दै डा गौतमले नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ६८ हजार ६ सय ६८ पुगेको बताए ।
डा गौतमका अनुसार हाल नेपालभर २५ हजार ७ सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये १० हजार ५ सय ९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १४ हजार ४ सय ११ जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै काठमाडौं उपत्यकामा बुधवार मात्रै थप १६ सय ८४ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा १२ सय ९६, भक्तपुरमा ९५ र ललितपुरमा २ सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।