भरतपुरमा ८० जनासहित चितवनमा एकैदिन थप १ सय ४० जनामा काेराेना संक्रमण पुष्टि

चितवन, २१ असाेज । भरतपुरमा ८० जनासहित चितवनमा एकैदिन मंगलबार थप १ सय ४० जनामा काेराेना भाइरस (काेभिड–१९) संक्रमण पुष्टि भएकाे छ ।
भरतपुर १० स्थित रहेकाे चितवन मेडिकल कलेज (सीएमसी) काे काेराेना प्रयाेगशालामा ७८ र भरतपुर अस्पताल काेभिड–१९ परीक्षण प्रयाेगशालामा ६२ गरी मंगलवार गरिएकाे परीक्षणमा थप एक सय ४० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । जसमध्ये १ सय ५ जना जिल्ला भित्रका छन् भने ३५ जना बाहिरी जिल्लाका छन् ।
संक्रमित हुनेमा ९५ जना पुरूष र ४५ जना महिला रहेका छन् । संक्रमण पुष्टि हुने चितवनका १ सय ५ जनामध्ये भरतपुर महानगरपालिकाका मात्रै ८० जना छन् । बाँकी २५ जना अन्य विभिन्न पालिकाका रहेका छन् ।
बाहिरी जिल्लाका ३५ जना काेराेना संक्रमित हुनेहरूमा अधिकांश उपचारका लागि यहाँका अस्पतालमा आएका विभिन्न जिल्लाका बिरामीहरू छन् ।
याेसँगै जिल्लाका संक्रमितको संख्या झन्डै २५ सय हाराहारी पुगेकाे छ । जसमध्ये स्वास्थ्य कार्यालय चितवनका अनुसार मंगलबारसम्म १ हजार ३ सय ३३ जना काेराेना संक्रमणमुक्त भई स्वस्थ भएका छन् । संक्रमित मध्ये जिल्लाका २७ जनाकाे मृत्यु भइसकेकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।