नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, ६७ हजारभन्दा बढी स्वस्थ

काठमाडौं, २० असोज । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा ११ हजार ४७ पिसिआर परीक्षण गरिएकोमा थप एक हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको बताए ।
यस्तै पछिल्लो २४ घन्टामा थप २ हजार ३ सय ४० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको भन्दै डा गौतमले नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको जानकारी गराए । यो दर कुल संक्रमितको ७४ दशमलव ३ प्रतिशत रहेको छ ।
नेपालमा हाल २२ हजार ७ सय ९ सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ९ हजार १ सय १८ संस्थागत आइसोलेसनमा रहेका छन् भने १३ हजार ५ सय ९१ जना होम आइसोलेसनमा रहेका छन् ।