डा.केसीलाई भेट्न अस्पताल पुगेको शिक्षा सचिवसहितको टोली फर्कियो

काठमाडौं, २० असोज । प्राध्यापक डाक्टर गोविन्द केसीलाई भेट्न शिक्षा सचिवसहितको तीन सदस्यीय टोली अस्पताल पुगेर फर्केको छ ।
१९ औं असनसन थालेको २३ औं दिनमा डा. केसीलाई भेट्न शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोली त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेको हो ।
अस्पताल पुगेपछि शिक्षा सचिवव मैनालीले डा केसीलाई माग सम्बोधनको विषयमा भन्दा पनि सत्याग्रह रोक्नका लागि आग्रह गरेको डा केसीका सहयोगी प्रितम सुवेदीले बताए । भेटको क्रममा शिक्षा सचिवले डा. केसीलाई सरकारको तर्फबाट औपचारिक वार्ता टोलि नबनेको जानकारी गराएको पनि सुवेदीले बताए ।
डा केसीले यस अगाडि नै सरकारका प्रवक्ताले अनसन तोड्न भनिसकेकाले त्यसका लागि दःख नगर्न जवाफ दिएका थिए । उनले आफ्ना मागहरूमा छलफल गर्ने हो भने सरकारले आधिकारिक रूपमा वार्ता टोली बनाएर पठाउनु पर्ने भन्दै आफूले अनसन जारी राख्ने अडान राख्दै टोली फिर्ता पठाएको सुवेदीले जानकारी दिए ।
२३ औं दिनसम्म आइपुग्दा डा केसीको स्वास्थ्य अवस्था निकै नाजुक बनेको र उनलाई अक्सिजन सपोर्टमा राखिएको छ । विभिन्न ६ बुँदे माग राखि भदौ २९ गतेबाट डा केसीले अनसन सुरु गरेका हुन् ।