डा. केसीको जीवन रक्षाका लागि आवासीय चिकित्सकहरूले ओपिडी सेवा बहिष्कार गर्ने

काठमाडौं, २० असोज । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आवासीय चिकित्सकहरूले ओपिडी सेवा बहिष्कार गर्ने निर्णय गरेका छन्।
एक विज्ञप्ती जारी गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले ओपिडी सेवा बहिष्कारको निर्णय गरेका हुन् ।
डा.केसीले अनसन सुरु गरेको मगंलबार २३ दिन बित्दा पनि माग पूरा गर्न सरकारले गैरजिम्मेवारी देखाएको भन्दै आवासीय चिकित्सकहरूले चरणवद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै आएका छन्।
यसअघि उनीहरूले कोभिड, इमर्जेन्सी तथा इन्डोर सेवा बाहेक अन्य सेवा दैनिक २ घन्टा बन्द गरी धर्ना दिने तथा र्याली गर्ने समेत काम गर्दै आएका थिए।
कोभिड, इमर्जेन्सी तथा इन्डोर सेवा अवरोध नगरिए पनि कालोपट्टी बाँधी सेवा प्रवाह गर्ने चिकित्सकहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
डा केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी तत्काल उनका माग पूरा गर्न समेत उनीहरूले माग गरेका छन्।
सरकारले तत्काल डा केसीका माग पूरा नगरे थप कडा आन्दोलनका कार्यक्रम गर्ने र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनीहरूको चेतावनी समेत छ।