सरकारी अस्पतालका निर्देशकलाई स्वास्थ्यमन्त्रीको निर्देशन: अस्पतालको गेटबाट बिरामी नफर्काउनुस

काठमाडौं, २० असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिएका छन् ।
मन्त्री ढकालले बिरामीहरु अस्पतालको गेटबाट फर्कन नपर्ने गरी काम गर्न पनि निर्देशन दिएकाहुन् । सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न आग्रह गरेको छ ।
देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग मन्त्री ढकालले भर्चुअल माध्यमबाट छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् । चाडबाडको बेला हुने भीडभाडले कोरोना संक्रमणको जोखिम अझै बढ्ने सम्भावना देखाउँदै मन्त्री ढकालले उच्च मनोबलका साथ काम गर्न भनेकाछन् ।
कोभिड १९ विरूद्ध फ्रन्टलाइनमा बसेर काम गरिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल बढाउने अभिप्रायले आयोजित छलफलमा मन्त्री ढकालले अस्पतालले कोभिड १९ विरूद्धको काममा भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाबारे जानकारी लिएका थिए ।
छलफलमा २५ अस्पतालका निर्देशकले सहभागिता जनाएका थिए । उनीहरूले कोभिड १९ का कारण भोगिरहेका समस्या, अहिले गरिरहेका काम र स्वास्थ्य मन्त्रालयले तत्काल गरिदिनुपर्ने काम लगायतका विषय मन्त्रीसँग राखेका थिए ।