रोग लाग्नबाट जोगिनु छ भने तरकारी र फलफूल खरिद गरेर ल्याइसकेपछि यी काम गर्नुहोस्
गत वर्ष फलफूल र तरकारीमा विषादीको प्रयोगले ठूलो बहस भयो । आयातित मात्रै नभई नेपालभित्रै उत्पादन हुने तरकारी र फलफूलमा पनि विभिन्न विषादीका अवशेष हानिकारक तहमा रहेका विभिन्न अध्ययनहरूले देखाएका छन् । त्यति मात्रै नभई हाल कोरोना महामारी सुरु भएपछि फलफूल र तरकारीबाट संक्रमण हुन सक्छ भनेर बेला बेलामा सुन्ने गरिन्छ ।
तरकारी वा फलफूल खरिद गर्दा विभिन्न व्यक्तिहरुको हातले छुने हुँदा त्यसमा भाइरसको कण बाँकी रहने सम्भावना हुन्छ भन्ने मानिसलाई मनमा डर हुने गरेको छ । जसले गर्दा पछिल्लो समय नागरिक सचेत पनि भएका छन् । फलफूल वा तरकारीमा विषादीको प्रभावबाट जोगिन र कुनैपनि किसिमको संक्रमणको जोखिमलाई कम गर्न के गर्ने ? विषादी व्यवस्थापन विज्ञ डिल्लीराम शर्माको सुझाव यस्तो छ :पहिलो
वेगले खस्ने धाराको पानीमा तरकारी वा फलफूललाई तीनपटक सम्म राम्ररी पखाल्यो भने त्यसमा रहेको विषादी पखालिएर जान्छ। ५० देखि ६० प्रतिशत विषादी त्यसरी धारामा पखाल्दा बगेर जान्छ।
दोस्रो
विषादी हटाउनका लागि वा कुनैपनि किसिमको संक्रमण कम गर्नका लागि नुन उपयुक्त उपाय हो । किन भने नुन सबैको भान्छामा सजिलै पाइन्छ । नुनको प्रयोगले विषादी र संक्रमणको जोखिमलाई कम गर्न सकिछ । त्यसका लागि एक चम्चा नुन एक लिटर पानीमा राख्ने (तरकारी वा फलफूलको मात्रा अनुसार पानी र नुन थपघट गर्न सकिछ) र त्यसमा १० देखि १५ मिनेटसम्म तरकारी या फलफूललाई डुबाएर राख्ने । त्यसपछि निकालेर पखाल्दा ६० देखि ७० प्रतिशतसम्म विषादी हट्छ ।
नुन प्रयोग नगर्ने हो भने त्यसको सट्टा भिनेगर र पानीमा तरकारी या फलफूललाई डुबाउँदा पनि हुन्छ ।
तेश्रो
अझै बढी विषादी हटाउने हो भने हामीले तरकारी वा फलफूलको बाहिरको बोक्रा छोडाउनुपर्छ। धेरैजसो विषादीका अवशेष बाहिरी भागमै हुने गर्छ। बोक्रा छिल्ने वा नखाने गर्नुपर्छ।
उदाहरणको लागि बन्दाकोभी छ भने माथिको दुई तीन पत्र नै हटाउनुपर्छ।त्यो हटायो भने पनि विषादीको प्रभाव धेरै कम हुन्छ।
स्याउको पनि बाहिरको ब्रोका छोडाउन सकिन्छ।चिकित्सकहरूले कतिपय फलफूलका बोक्रामा शरीरलाई फाइदा र्पुयाउने रेशाहरू हुन्छन् भन्ने गर्छन् । तर विषादी खाने कि नखाने भन्ने निर्णय चाहिँ हामी आफैँले गर्नुपर्छ।
चौथो
एकै प्रकारका फलफूल वा तरकारी खानु हुँदैन किनभने त्यसले विषादीको जोखिम बढाउँछ।खासगरि बेमौसमी फलफूल र तरकारीमा अलि बढी विषादी मिसिएको हुन्छ।
हामीले मौसमी फलफूल र तरकारी खान जोड गर्नुपर्छ।
पाँचौ
जसरी संक्रमणको दर बढ्दै गएको छ त्यसलाई ध्यानमा राखी तरकारी वा फलफूल खरिद गर्न जाँदा पञ्जाको प्रयोग गर्ने, घर आइसकेपछि पञ्जा व्यवस्थापन गरेर हात धुने, किनेर ल्याएको तरकारीलाई नुन पानीमा राखी हाल्नु पर्छ ।
अन्तिममा हामीले सुरक्षित र स्वस्थ फलफूल र तरकारीको सेवन गरेनौं भने त्यसमा प्रयोग हुने विभिन्न विषादीले हामीलाई क्यान्सर, छाला सम्बन्धी रोग जस्ता अन्य हानीकारक प्रभाव पर्न सक्छ । त्यसकारण समयमै सचेत हुनु आवश्यक छ ।