चितवनमा ३ वर्षीया बालिकासहित थप २० जनामा कोरोना संक्रमण पुष्टि

चितवन, १९ असोज । भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ३ वर्षीया बालिकासहित थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार गरिएको परीक्षणको नतिजा अनुसार चितवनका १८ जना सहित अन्य दुई जिल्लाका गरि थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।
संक्रमित हुनेमा १२ जना पुरूष र ८ जना महिला रहेका छन् ।
उनका अनुसार संक्रमित हुनेहरूमा भरतपुर महानगरपालिकाका ७ पुरूष र २ महिला गरी ८ जना छन् । त्यस्तै, खैरहनी नगरपालिकाका महिला र पुरूष समान ३/३ जना छन् । यहाँ संक्रमित हुनेमा ३ महिनाकी बालिकासमेत छिन् । ईच्छाकामना गाउँपालिका, रत्ननगर र कालिका नगरपालिकाका समान १/१ गरी जम्मा ३ जना छन् ।
त्यस्तै अन्य जिल्लाका कोरोना संक्रमण पुष्टि हुनेहरूमा नवलपरासी र दाङका १/१ जना छन् ।
सोमबार प्रयोगशालामा २ सय ८ वटा नमुना परीक्षण गरिएको मध्ये ती २० जनामा संक्रमण देखिएको हो । बाँकी १ सय ८८ नमुनाको नतिजा भने नेगेटिभ आएको प्रयोगशालाकी प्रमुख डा. अधिकारी बताइन् ।
उनीहरूको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको हो ।
योसँगै चितवनमा संक्रमितको संख्या झन्डै २३ सय नजिक पुगेको छ । त्यसमध्ये सोमबार दिउँसोसम्म १ हजार ३ सय १८ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी संक्रमितमध्ये अहिलेसम्म जिल्लाका २३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिले जिल्लामा ९ सय ५० जना सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।