काठमाडौं उपत्यका किन बन्यो कोरोनाको 'हट स्पट' ?

सरकार भन्छः जनस्वास्थ्यका मापदण्ड पालना गरिएन



Download our app to get more features

काठमाडौं, १९ असोज । काठमाडौं उपत्यकामा एकैदिन १५ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा ११ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको हट स्पट बन्दै गएको छ । दिनकै एक हजारभन्दा बढीका दरले काठमाडौं उपत्यमा संक्रमित थपिँदै जाँदा सरकारले भने नागरिककै असावधानीका कारण काठमाडौं कोरोनाको हट स्पट बनेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा संक्रमणको दर उच्च हुनुमा सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पूरा नगर्नु र खुला सीमा प्रमुख कारण रहेको बताए ।

उनले भने, ‘सरकारले कोरोना संक्रमणको दर नियन्त्रण गर्नका लागि विभिन्न उपाय अपनाएपनि खुला सीमाका कारण मानिसहरु काठमाडौं भित्रिएको र क्वारेन्टाइनमा नबसेका कारण संक्रमण फैलिएको हो । साथै सरकारले तोकेका जनस्वास्थ्यका मापदण्ड पनि अटेरी गरिरहेका छन् । जसले संक्रमण फैलिँदै गएको छ ।’

सरकारले गरेको आग्रहलाई वेवास्ता गर्दै सभा, सेमिनार, गोष्ठीको आयोजना गरिएको, विरोध र जुलुस निकालेको, भिडभाड हुने काम गरेको हुनाले काठमाडौं उपत्यका कोरोना संक्रमणको हट स्पट बनेको उनको भनाइ छ ।

मास्क लगाउने विषयलाई अझै सर्वसाधारणले वेवास्ता गर्ने गरेको, एक अर्काबीचको दुरीलाई कायम नगरेको, खुला सीमामा कमीकमजोरीका कारण पनि काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गएको डा गौतमले उल्लेख गरे ।

उनले थपे, ‘संक्रमणको जोखिमलाई अझै नियन्त्रण गर्न सकिन्छ । तर, त्यसका लागि आफै सचेत हुनु पर्छ । यदि यसरी नै वेवास्ता गर्दै जाने हो भने अवस्था झन् भयावह हुन सक्नेछ ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts