प्रसूति गृहमा २८ वर्षीया महिलाले एकैपटकमा जन्माइन पाँच शिशु

काठमाडौं, १९ असोज । नेपालमा एक महिलाले एकैपटक पाँच जना शिशुलाई शल्यक्रियामार्फत् जन्म दिएकी छिन् ।
थापाथलीस्थित परोपकार प्रसुति गृहमा २८ वर्षीया एक महिलाले ५ जना शिशुलाई जन्म दिएकी हुन् ।
नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकोमा चार जना जीवित रहेको र एक जना शिशुको गर्भमैै मृत्यु भइसकेको शल्यक्रियाका नेतृत्वकर्ता डा. किर्तिपाल सुवेदीले हाम्रो डाक्टर न्यूजलाई बताए ।
अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशुको जन्म भएको हो ।
शल्यक्रियामा डा. सुवेदीलाई डा. दिप्ती श्रेष्ठ, डा.नमिता सिङदेनले साथ दिएका थिए भने एनेस्थेसियामा डा. मुकेश कुमारले नेतृत्व गरेका थिए ।
त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गरेकी थिइन् भने बाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले बच्चाहरुको स्वास्थ्य अवस्था हेरिरहेकी छन् ।
डा. सुवेदीका अनुसार जीवित जन्मिएका ४ शिशुलाई एनआईसीयूमा निगरानीमा राखिएको र उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको बताएका छन् ।
नेपालमा एक महिलाले एकै पटकमा ५ बच्चा जन्माएको नगन्य केस हो भन्दै डा सुवेदीले नेपालमा चार जनासम्म बच्चा एउटै महिलाले जन्माएको रकेर्ड रहेको पनि जानकारी गराए ।