विराट नर्सिङहोमबाट हाम्फालेका बिरामीको मृत्यु

विराटनगर, १९ असोज । विराटनगरको विराटनर्सिङ होम(विराटनगर अस्पताल)बाट हाम्फालेका बिरामीको मृत्यु भएको छ । अस्पतालको दुई तलामाथिबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका ७ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार गजमेर १७ असोजमा अस्पताल भर्ना भएर आईसीयूमा उपचाररत थिए ।
फोक्सोमा गम्भीर समस्या देखिएको भन्दै चिकित्सकको सल्लाहमा उनलाई आईसीयूमा राखिएको थियो ।
आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किएका गजमेरले सोमबार बिहान ५ः३० बजे दुई तलामाथिबाट हामफालेको अस्पतालले जनाएको छ ।
हामफालेर गम्भीर घाइते भएका उनलाई उद्धार गर्दै उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो ।
गजमेरको उपचारका क्रममा ९ बजेतिर मृत्यु भएको हो । मृत्यु अस्वभाविक देखिएका कारण घटनाको अनुसन्धान थालिएको उनले बताए ।