स्तन क्यान्सर आफै कसरी जाँच्ने ? समयमै पहिचान भए निको हुनसक्छ स्तन क्यान्सर

What's This?


Download our app to get more features

काठमाडौं, १९ असोज । अहिले अक्टुबर महिना चलिरहेको छ । अक्टुबर महिनालाई विश्वभर क्यान्सर जागरुकता महिनाको रुपमा मनाइँदैछ । विभिन्न प्रकारका क्यान्सर मध्ये स्तन क्यान्सर तीव्र गतिमा फैलिदै जाँदा विश्व स्वास्थ्य संगठनले अक्टुबर महिनालाई क्यान्सर जागरुकताको महिना भनेर मनाउन थालेको हो । डाक्टरहरुले अक्टुबर महिनालाई 'पिंक मन्थ' भनेर पनि मनाउने गरेका छन् ।

महिलाहरुमा विशेषगरि स्तनक्यान्सर पहिलो ठूलो समस्याको रुपमा देखा परेको छ । हुन त पछिल्लो समय पुरुषहरुमा पनि स्तन क्यान्सर देखिन थालेको छ । स्तन क्यान्सर रोग विशेषज्ञ डा प्रफुल्ल शाक्यका अनुसार स्तनको विकास युवावस्थामा प्रवेश गरेको प्रमुख लक्षण हो । प्रायःजसो किशोरीहरूमा महिनावारी हुनुपूर्व स्तनको वृद्धि सुरु हुन्छ । 

उनी भन्छन्, ‘यौवनावस्थामा प्रत्येक केटीको स्तनमा नियमित रूपमा परिवर्तन हुन्छ । जब स्तन बढ्दै जान्छ, स्तनभित्र एक प्रकारको गिर्खा महसुस हुन्छ । महिनावारीको समयमा स्तन बढी संवेदनशील, सुन्निने र दुख्ने गर्छन् । यो सामान्य अवस्था हो ।’

युवावस्थामा आफैँले आफ्नो स्तन परीक्षण गर्ने बानी बसाल्ने हो भने पछि देखिने असामान्य परिवर्तन सहजै महशुस गर्न सकिन्छ । यो परीक्षण कुनै लाजको विषय वा गर्न नहुने काम पटक्कै होइन । जसरी हामीले आफ्नो कपाल, अनुहार आदिलाई स्याहार गर्छौं, त्यसरी नै स्तनलाई पनि महिनाको एकपटक केही मिनेट समय दिएमा स्तन क्यान्सरको जोखिम पत्ता लगाउन सकिन्छ ।

आफ्नो स्तन आफै परीक्षण गर्ने सबैभन्दा उपयुक्त समय महिनावारी भएको एक सातापछि हो, जुन समयमा स्तनहरू दुख्ने तथा ठूला हुने हुन्छन् । नुहाउने समयमा वा नुहाएर ठूलो ऐनाअगाडि उभिएर परीक्षण गर्नु सबैभन्दा उपयुक्त हुन्छ । स्वास्थ्यकर्मी वा चिकित्सकबाट परीक्षण गराउने, भिडियो एक्स–रेबाट परीक्षण गराउने र मेमोग्रामबाट परीक्षण गर्ने अन्य विधि हुन् । आफ्नो स्तनको आफैबाट परीक्षण गर्न सके समयमै रोग पहिचान हुने र अधिकांश निको हुने गर्छ । डा शाक्यसँगको कुराकानीमा आधारित स्तन क्यान्सरबारे जान्नै पर्ने केही कुराहरुः

कसरी गर्ने स्तन परीक्षण ?
१. ठूलो ऐनाअगाडि निर्वस्त्र उभिएर तपाईंको देब्रे हात उठाउने अनि दाहिने हातले देब्रे स्तनको परीक्षण गर्ने ।

२. तपाईंको देब्रे हातका बीचका तीनवटा औँलाहरूको संवेदनशील भागले (ल्याप्चे लगाउने भाग, टुप्पो होइन) स्तनको वरिपरी गोलाकार रूपमा विस्तारै मालिस गर्दै (औँला नउचालीकन) टुप्पोतिर लाग्ने ।

३. स्तनमा औँलाले दबाएर विभिन्न किसिमका तन्तुहरू अनुभव गर्नुस् । पहिले विस्तारै दबाब दिएर छालालाई मात्र परीक्षण गर्नुस् अनि मध्यम दबाब दिएर बीचका तन्तुहरू महसुस गर्ने र अन्तमा जोडले दबाब दिएर करङसम्म औँला र्पुयाई भित्री गिर्खा, दुखाइ वा असहजता खोजी गर्ने ।

४. पूरै स्तन, छाती, पाखुरामुनि, काखी, ब्युटी बोन र काँध वरपरी छाम्ने ।

५. यसप्रकार देव्रे स्तन परीक्षण गरेपछि यसै गरी दाहिने स्तनलाई देव्रे हातले परीक्षण गर्ने ।

६. स्तनलाई ठूलो ऐनामा हेर्ने । स्तनको आकार, रंग, चाउरीपना, मुन्टो आदि हेर्ने । त्यसपछि स्तनको मुन्टोलाई विस्तारै दबाएर त्यसबाट निस्कने तरल पदार्थ हेर्ने ।

स्तनको आकार, प्रकार, रंग, नयाँ गिर्खा, तरल पदार्थ आदिमा परविर्तन महसुस भएमा, बढी दुखेमा, निको नहुने घाउ भएमा, स्तनको मुन्टो स्तनतिर फर्किएमा, स्तनको छेउमा काखीमुनि गिर्खा महसुस भएमा चिकित्सकसँग परामर्श गर्ने ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts