डाक्टर केसीसँग अविलम्ब वार्ता गरी माग पूरा गर्न काँग्रेसको आग्रह

काठमाडौं, १८ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनसनरत डा. गोविन्द केसीको जटिल स्वास्थ्य स्थिति दृष्टिगत गरी अविलम्ब वार्ता गरी जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेका छन् ।
सभापति देउवाले आज एक अपिल जारी गरी चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम चाल्ने उनका माग केवल एक व्यक्तिको मात्र नभएको जनाउँदै उनको माग र आवाजको सुनुवाइ गर्नु सरकारको कर्तव्य भएको उल्लेख गरेका छन् ।
पूर्व प्रधानमन्त्री देउवाले डा. केसीका माग पूरा गर्दै आफ्नो नेतृत्वमा रहेकोे अघिल्लो सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ २०७४ कात्तिक २४ मा जारी गरे पनि वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नाको परिणाममा आजको स्थिति उब्जिएको जनाएकाछन् ।
वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा २०७५ साउनमा डा. केसीसँग गरिएको सम्झौता फेरि पनि संवादमार्फत समाधानमा पुगेर सार्थक कार्यान्वयनमा इमान्दारी प्रस्तुत गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
उनले प्रधानमन्त्रीलाई डा. केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, माग पूरा गर्न र उनको जीवन रक्षा गर्न किञ्चित ढिलाइ नगर्नआग्रह गरेका छन् ।
डा. केसीको जीवन रक्षाका लागि अहिले सम्म कुनै पहल नगरेकोमा लोकतन्त्रको खिल्लि उडाएको जनाएकाछन् ।
डा. केसी विभिन्न ६ बुँदे माग राखेर २९ भदौदेखि आमरण अनसनमा छन्। अनसनको २१ दिनसम्म पनि सरकारले माग पूरा गर्ने तर्फ कुनै चासो दिएको छैन। अनसनका कारण डा. केसीको स्वास्थ्य भने जटिल बन्दै गएको छ।