डा केसीको माग पूरा गर्न सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम
वार्ता टोली गठन नगरे कठोर कदम चाल्ने

काठमाडौं, १८ असोज । नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीका मागबारे वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
संघले आइतबार विज्ञप्ति जारी गर्दै सरकारलाई ७२ घण्टाको समय दिएको हो। यो अवधिमा पनि डा केसीका माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी समेत संघले दिएको छ ।
डा केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको गराउन पनि संघले सरकारसँग अनुरोध गरेको छ।
संघले ७२ घण्टाभित्र वार्ता टोली गठन गरेर संवाद सुरु गर्न अल्टिमेटम दिँदै सरकारले अटेरी गरेमा जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
यसबाट पर्न जाने गम्भीर परिस्थितिको जिम्मेवार सरकार नै हुने पनि चिकित्सक संघले जनाएको छ ।
डा केसी विभिन्न ६ बुँदे माग राखेर २९ भदौदेखि आमरण अनसनमा छन्। अनसनको २१ दिनसम्म पनि सरकारले माग पूरा गर्ने तर्फ कुनै चासो दिएको छैन।
अनसनका कारण डा केसीको स्वास्थ्य भने जटिल बन्दै गएको छ।