दुर्गम र सडक यातायातको पहुँच नभएको स्थानबाट संक्रमितलाई स:शुल्क एयर लिफ्ट गरिने
यस्ता छन् आईसीएसका निर्णय

काठमाडौं, १८ असोज । सरकारले दुर्गम र यातायातको सहज पहुँच नभएको क्षेत्रबाट कोरोना संक्रमितको सशुल्क उद्दार गर्ने सम्बन्धी मापदण्ड स्विकृत गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्गम तथा सहज रुपमा सडक यातायातको पहुँचमा नभएका स्थानलाई दृष्टिगत गरि कोभिड १९ संक्रमितहरुलाई जनस्वास्थ्यका मापदण्डहरु अपनाई स शुल्क एयर लिफ्ट गर्ने सम्बन्धी मापदण्ड स्विकृत गरेको हो ।
यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) को बैठकले कोरोना संक्रमणको दर बढ्दै गएकाले जोखिमलाई ध्यानमा राखी स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको छ ।
विशेषगरि काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमणको दर उच्च हुँदै गएपछि सरकारले आवश्यक स्वास्थ्य सामग्री तयार पार्न विभागलाई निर्देशन दिएको हो ।
यसैगरि बैठकले निजी अस्पताल र प्रयोगशालाले दिने स्वास्थ्य सेवा र शुल्कका विषयमा अनुगमन गर्न गुणस्तर अनुगमन तथा नियमन महाशाखालाई निर्देशन दिएको छ भने ६ हजार हाई डिपेन्डिन्सी स्थापना गर्ने पनि निर्णय गरिएको छ । नीति योजना तथा अनुगमन शाखाको नेतृत्वमा २५ सय को काठमाडौं उपत्यकामा र बाँकी पाँच पाँच सयका दरले सात वटै प्रदेशमा स्थापना गरिनेछ ।
यस्तै काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएपछि सरकारले लक्षण देखिएका संक्रमितलाई १० दिनमा पिसिआर परीक्षण गर्न र पोजेटिभ देखिए थप ४ दिन अस्पतालमा राखि डिस्चार्ज गर्न पनि अस्पतालहरुलाई बैठकले निर्देशन दिएको छ भने लक्षणबिहीन संक्रमतिलाई १४ दिनमा पिसिआर परीक्षण बिनै डिस्चार्ज गर्न भनेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको दर दैनिक एक हजारभन्दा बढीले थपिँदै गएको छ । आइतवार मात्रै उपत्यकामा १५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् ।