चितवनमा १ दिने शिशुसहित थप ८६ जनामा कोरोना संक्रमण पुष्टि, संख्या २१ सय नाघ्यो



Download our app to get more features

चितवन, १६ असोज । चितवनमा एक दिने शिशुसहित थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

भरतपुर १० स्थित रहेको चितवन मेडिकल कलेज (सीएमसी) को कोरोना प्रयोगशालामा ६८ र भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा १८ गरी शुक्रवार गरिएको परीक्षणमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ७३ जना जिल्ला भित्रका छन् भने १३ जना बाहिरी जिल्लाका छन् ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ६० जना छन् । बाँकी १३ जना अन्य विभिन्न पालिकाका रहेका छन् । योसँगै भरतपुर महानगरपालिका भित्र हालसम्म संक्रमित हुनेको संख्या झन्डै १४ सय पुगेको छ । जसमध्ये ७ सय ६२ जना निको भएका छन् ।

योसँगै जिल्लाका संक्रमितको संख्या २१ सय नाघेको छ । जसमध्ये शुक्रवारसम्म १ हजार ३ सय ३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैबिच भरतपुर महानगरपालिका ११ की ७६ वर्षीया एक संक्रमित वृद्वाको मृत्यु भएको छ । भरतपुर १० स्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत ती महिलाको शुक्रवार विहान ११ः४५ वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार ज्वरो र स्वासप्रश्वासका कारण असोज १० गते भर्ना भएकी उनमा असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts