नेपालमा स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु हुने क्रम सुरु भएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं, १६ असोज । कोरोना महामारी विरुद्धको लडाईंमा खटिएका चिकित्सकको मृत्यु भएपछि नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपालमा दिनप्रतिदिन कोरोना संक्रमणका कारण मानिसहरुको मृत्यु हुन थालेको र त्यसै क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको पनि मृत्यु हुन थालेपछि संघले सरकारको ध्यानाकर्षण गराएको हो ।
संघले पछिल्लो समय सेवा प्रवाहमा खटिएका चिकित्सकहरु संक्रमित हुने क्रम तीव्र गतिमा वृद्धि हुँदै गईरहेको र सेवा प्रवाहमा खटिएका चिकित्सकको मृत्यु हुने क्रमको शुरुवात भइ सकेकोले सरकारले यस विषयमा विशेष ध्यान दिनुपर्ने संघले माग गरेको छ । संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै यी कुरामा ध्यान दिनपनि माग गरेको छ ः १) काठमाडौं उपत्यका बाहिरका संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सिघ्र उपचारका लागि काठमाडौंमा ल्याउनको निमित्त आकस्मिक हेलिकप्टरको व्यवस्थापन गर्नु पर्ने ।
२) चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संक्रमित भएको खण्डमा नीजहरुको उपचार खर्च लगायतको सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाल सरकारले नै लिनुपर्ने ।
३) नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधीहरु जस्तै रेम्डीसीभर, लगायतका कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आइसियू बेडहरु र जनरल बेडहरुको संख्या बृद्धि गर्नु पर्ने ।
४) विश्व स्वास्थ्य संगठनले सिफारिस गरे बमोजिम देशभरका स्वास्थ्य संस्थाहरुमा संक्रमण व्यवस्थापन सम्बन्धी ठोस प्रभावकारी रणनीति तर्जुमा गरी अनिवार्य कार्यान्वयन गर्नु पर्ने ।
५) युद्धमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबल उच्च पार्नका लागि सुरक्षाका सामग्रीहरुको सहज उपलब्धता गराउनु पर्ने ।
६) कोभिड उपचारको क्रममा संक्रमित भएका चिकित्सकहरुको आवश्यक उपचारको व्यवस्थापनका लागि मन्त्रालयमा छुट्टै शाखाको व्यवस्था हुनु पर्ने ।
७) कोभिड–१९ को संक्रमणको उपचारमा संलग्न चिकित्सकहरु स्वयं संक्रमित भई मृत्यु भएमा रु. १ करोड सम्मको बीमा रकम भुक्तानीको सुनिश्चिता प्रदान गर्नु पर्ने ।
८) स्वास्थ्य संस्थामा सामान्य बिरामीहरुको समेत भिडभाड बढदै गएकोले स्वास्थ्य संस्थामा हुने भीडलाई कम गर्नका लागि पूर्व निर्धारित समय लिने व्यवस्थालाई कडाईका साथ लागू गर्नु पर्ने । ९) स्वास्थ्यकर्मीलाई आईसीयू र भेन्टिलेटर संचालन गर्न सक्ने गरी तालिमको व्यवस्था गर्ने तथा समुदायमा कोभिड रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।
संघले माथि उल्लेखित बुँदाहरुको अबिलम्ब कार्यान्वयन गरी कोभिड–१९ को महामारीमा आफ्नो ज्यानको जोखिम मोल्दै स्वास्थ्य सेवा प्रवाहमा होमिएका चिकित्सकहरुको मनोबल उच्च पार्न संघले सरकारसँग माग पनि गरेको छ ।