हेटाैंडाका काेराेना संक्रमित एक पुरूषकाे चितवनमा उपचारको क्रममा मृत्यु

चितवन, १६ असोज । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिकाका ७८ वर्षीय वृद्वको आज बिहान ७ः३० बजे मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
उनका अनुसार ती पुरूषमा संक्रमण पुष्टि भएपछि बिहीवार राति १० बजेतिर चितवन मेडिकल कलेजबाट रेफर भइ भरतपुर अस्पताल आएका थिए ।
मृतक ती पुरूषमा निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । कोभिड सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गरिएको थियो । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैबीच राप्ती नगरपालिका ११ का मृत्यु भएको एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्यान्सरका रोगी ५५ वर्षीय पुरुषको बिहीवार घरमै मृत्यु भएको थियो ।
अस्पतालमा भर्ना भएका ती पुरुषलाई अन्तिम अवस्था जनाउँदै बुधबार घर लगिएको थियो । घर लगिएको भोलिपल्ट उनको मृत्यु भएको र मृत्यु पश्चात् उनमा कोरोना संक्रमण पुष्टि भएको पनि बताइएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।