रुपन्देहीमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

रुपन्देही, १६ असोज । रुपन्देहीमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका ८ का ४२ वर्षीय पुरुषको बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी डा विष्णु गौतमले बताए ।
श्वासप्रश्वासमा समस्या र ज्वरो देखिएपछि बुधवार अस्पताल भर्ना भएका उनमा बिहीवार कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै बुटवल उप महानगरपालिका ७ का ६० वर्षीष पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएका ती पुरुष असोज १३ गते लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका थिए । अन्य स्वास्थ्य समस्या नरहेको उनको बिहीवार राति ११ः ५० मा भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
पछिल्लो समय रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुने दरमा वृद्धि हुँदै गएको छ ।