डा. केसीलाई अनशन फिर्ता लिन सरकारको आग्रह



Download our app to get more features

काठमाडौं, १५ असोज । सरकारले अनसनरत डाक्टर गोविन्द केसीलाई अहिले अनशन बस्न उपयुक्त समय नभएको बताएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीका अधिकांश माग पूरा हुने चरणमा रहेको भन्दै सत्याग्रह तोड्न आग्रह गरेको हो ।

बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले कोरोना महामारीको समयमा अनसन बस्नु उपयुक्त नहुने बताए ।  

उनले भने, ‘डाक्टरहरु, सुरक्षाकर्मीहरु कोभिडबाट नागरिकलाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहेको अवस्थामा अनसन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय होइन ।’

डाक्टर केसीका अधिकांश माग कार्यान्वयनमा गइसकेको र बाँकी रहेका विषयमा पछि पनि छलफल गर्न सकिने तर अहिले सबै जना कोभिडविरुद्धको लडाइँमा एक हुनुपर्ने बताए । 

डा. केसी चिकित्सा क्षेत्रको माग गर्दै केही दिनदेखि जुम्लाबाट सत्याग्रह सुरु गर्दै अहिले काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा रहेकाछन् । डा. केसीको मागअनुसार चिकित्सा शिक्षासम्बन्धी ऐन बनाइ त्यसको आधारमा उच्चस्तरीय आयोग निर्माण गरिसकेको उनले बताए ।

त्यस्तै, चिकित्सा शिक्षाका लागि गएको आर्थिक वर्षमा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयनमा आइसकेको पनि मन्त्री ज्ञवालीले बताए ।  मन्त्री ज्ञवालीले सातवटै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेज खोल्न राखेको मागअनुसार सबै प्रदेशमा मेडिकल कलेज सञ्चालनमा आउन लागेको पनि जानकारी दिए । 

पीसीआर परीक्षण बढाउनुपर्ने मागमा पनि सरकारले परीक्षणको दायरालाई बढाइ अहिलेसम्म १० लाख बढीको परीक्षण भइसकेकाले केभिडको महामारीको अवस्थामा पूरा भइसकेका विषयलाई माग बनाएर दबाब नदिन मन्त्री ज्ञवालीले आग्रह गरेकाछन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts