प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत डा सापकोटाको कोरोना संक्रमणका कारण मृत्यु

रुपन्देही, १५ असोज । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत एक जना डाक्टरको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
प्रादेशिक अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थाेपेडिक सर्जनका रुपमा कार्यरत डा हरि सापकोटाको उपचारको क्रममा भेरि अस्पताल नेपालगञ्जमा मृत्यु भएको अस्पतालका मेसु डा प्रकाश थापाले बताए ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएको सापकोटाको अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचारको क्रममा बिहीवार दिउँसो मृत्यु भएको डा. थापाले पुष्टि गरे ।
सुर्खेतममा कार्यरत उनमा सुर्खेतमै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । सुरुमा उनलाई त्यही उपचार गरिएको थियो । तर, अवस्था सुधार नभएपछि असोज २ गते सुर्खेतबाट भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
रेमडिसिभिर औषधिसँगै उनलाई दुईपटक प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको थियो । तर, उनको अवस्थामा कुनै सुधार नआउँदा बचाउन नसकिएको पनि डा थापाले बताए ।