नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार नाघ्यो, ५६ हजारभन्दा बढी स्वस्थ

काठमाडौं, १४ असोज । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ७७ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा थप १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १२ हजार २ सय ५ पिसिआर परीक्षण गरिएकोमा थप १५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८ सय १२ पुगेको पनि उनले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घन्टामा थप १ हजार ९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५६ हजार ४ सय ६८ पुगेको छ ।
नेपालमा हाल २० हजार ८ सय ९१ सक्रिय संक्रमित रहेका छन् । हाल नेपालभर संक्रमित भएकामध्ये १० हजार ८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १० हजार ८ सय ४ जना होम आइसोलेसनमा रहेका छन् ।