अनसनरत डा केसीको माग यथाशिघ्र सम्बोधनका लागि वार्ता टोली गठन गर्न एनएमएको माग

काठमाडौं, १४ असोज । नेपाल चिकित्सक संघले अनसनरत डा गोविन्द केसीको माग यथाशिघ्र सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
संघका महासविच डा बद्री रिजालले संघका आजीवन सदस्य प्राध्यापक डा केसीको जीवन रक्षाका लागि सरकारले यथाशिघ्र वार्ता टोली गठन गरेर माग सम्बोधन नगरे कठोर कदम चाल्न बाध्य हुने बताए ।
डा केसीको अनसनको १७ दिन बितिसक्दा पनि सरकारले उनको माग सम्बोधनका लागि कुनै पहल नगरेको भन्दै सघले कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी उनको जीवन रक्षाका लागि संघ गम्भीर रहेको पनि महासचिव रिजालले बताए ।
सरकार आफैले डा. केसीसँग १८ औं पटकको सत्याग्रहको क्रममा गरेका सम्झौताअनुसार उनका मागहरु नेपाल सरकारकै अंगको रुपमा स्थापित भई सकेको हुँदापनि सरकारले स्वामित्व ग्रहण गरिसकेका सम्झौताहरुको अक्षरस कार्यान्वयन गरी सर्व साधारण नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९ औं सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ताटोली गठन गरेर डा. के.सी.को जीवन रक्षा गर्न सरकारसँग संघले माग गरेको हो ।