मोरङ र बाँकेमा गरि थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं, १३ असोज । मोरङ र बाँकेमा गरि थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।
नोबेल मेडिकल कलेज विराटनगरले ती बिरामीलाई प्रतिष्ठानमा रेफर गरेको थियो ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
असोज १० गते प्रतिष्ठानमा भर्ना भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार हुँदै थियो ।
यस्तै, बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको पुष्टि गरे ।
दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिर दिएर उपचार भइरहेको थियो । दुवैजना भेन्टिलेटरमा उपचाररत थिए ।