बाँके र पर्सामा कोरोनाबाट दुई जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, ९ असोज । कोरोना भाइरसको संक्रमणबाट बाँके र पर्सामा एक–एक जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुष श्वासप्रश्वासमा समस्या भएपछि असोज ६ गते राति ११ बजे कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए । स्वास्थ्य कार्यालय बाँकेका अनुसार ६ गते नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।
 योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

यस्तै, पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचाररत ७७ वर्षीय पुरुषको गएराति मृतयु भएको छ । 
पर्साको पोखरिया नगरपालिका–१ का ७७ वर्षीय पुरुषको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति साढे ८ बजे मृत्यु भएको हो ।

मुटु र मिर्गौलाको समस्याबाट पीडित ती पुरुषलाई असोज ७ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । नारायणीमा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए ।
 योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ४५ पुगेको छ ।

Last modified on 2020-09-25 10:20:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts