सुदूरपश्चिमका थप एकजना कोरोना संक्रमितको मृत्यु

धनगढी, ८ असोज । सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पतालले दिएको जानकारी अनुसार दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए ।
मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको हो ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने बताए । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ ।
Last modified on 2020-09-24 07:57:30