कोरोना संक्रमणपछि निको भएका ३५ प्रतिशतमा तीन हप्तासम्म स्वास्थ्य समस्या

यस्तो छ स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययन



Download our app to get more features

काठमडौं, ७ असोज । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालमा कोरोना संक्रमणपछि निको भएका ३५ प्रतिशत मानिसमा तीन हप्तासम्म स्वास्थ्य समस्या हुने गरेको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको नेतृत्वमा नेपालमा कोरोना संक्रमित बिरामीहरुको स्वास्थ्य अवस्थाबारे अध्ययन गर्न दिईएको निर्देशन अनुसार परिषदले गरेको अध्ययनमा ३५ प्रतिशत मानिस कोरोना संक्रमणपछि निको हुँदापनि दुईदेखि तीन हप्तासम्म स्वास्थ्य समस्या देखिने गरेको पत्ता लागेको बताएको हो ।

परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीले कोरोना संक्रमणपछि निको भएकाहरुको स्वास्थ्य अवस्था, कन्ट्याक्ट ट्रेसिङ, बिरामीहरुको व्यवस्थापन, कोरोना भाइरसको परीक्षण, जनस्वास्थ्यका मापदण्ड लगायतका विषयमा अध्ययन गरिएको बताए ।

उनका अनुसार नेपालका सात वटै प्रदेशमा कोरोना संक्रमणपछि निको भएकाहरुको टेलिफोनमार्फत् अन्तरर्वाता लिइएको थियो । जसमा ५ सय ५२ जना संख्यात्मक र २५ जनामा गुणात्मक अध्ययन गरिएको थियो । 

डा ज्ञवालीले चैतदेखि २०२० सेप्टेम्बर १९ तारिखसम्म गरिएको अध्ययनमा ९९ प्रतिशत संक्रमिको यात्रा विवरण रहेको भन्दै नेपाल भित्रै यात्रा गर्नेको संख्या ६९ दशमलव १ प्रतिशत र अन्तराष्ट्रिय यात्रा गर्नेको संख्या २९ दशमलव ९ प्रतिशत रहेको बताए ।

उनले सेप्टेम्बर १९ सम्म नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५ सय ५३ रहेकोमा ४३ हजार ८ सय २० स्वस्थ भइसकेका र उनीहरुमध्ये नै केहीमा यो अध्ययन गरिएको पनि प्रष्ट पारे ।

१९ सेप्टेम्बर सम्मका संक्रमितमध्ये ९९ दशमलव १ प्रतिशतमा सामान्य अवस्था रहेको थियो भने १० दशमलव ९ प्रतिशतमा रुघाखोकी, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिएको डा ज्ञवालीले बताए ।

यस्तै संक्रमित भएकामध्ये युवा र वयस्कमा पनि कोरोनाले गम्भीर समस्या पार्ने गरेको पनि उनले उल्लेख गरे । डा ज्ञवालीले कुल संक्रमितमध्ये ७० प्रतिशत दीर्घरोगी रहेको र उनीहरुमा मुटुको समस्या, मधुमेह, रक्तचाप लगायतको समस्या देखिएको पनि बताए । यसैगरी कोरोना संक्रमणपछि धुम्रपान र मद्यपान गर्नेहरुको संख्या १० देखि १२ प्रतिशतले घटेको पनि उनले बताए । उनले भने, ‘नेपालमा कोरोना संक्रमण अघि परिषदले धुम्रपान र मद्यपान गर्नेहरुको विषयमा गरेको अध्ययनको आधारमा अहिले १० देखि १२ प्रतिशतले धुम्रपान र मद्यपान गर्नेहरुको संख्या घटेको छ ।’

यस्तै कोरोना संक्रमणका कारण सामाजीक रुपमा परेको विषयमा पनि परिषदले अध्ययन गरेको छ । अध्ययन प्रतिवदेशन बुधवार सार्वजनिक गर्दै डा ज्ञवालीले नेपालमा कोरोना संक्रमणपछि निको भएकामध्ये ८० प्रतिशतले घरायसी, घर बाहिर, कार्यालयका कामहरु पहिलेकै अवस्थामा गर्न सक्ने भएको बताए ।

यस्तै कोरोना संक्रमणपछि निको भएकामध्ये ९ दशमलव ६ प्रतिशतले घरायसी र ९ प्रतिशतले घर बाहिरको काम तथा ११ दशमलव १ प्रतिशतले काम गर्नका लागि अरुको सहायता लिने गरेको अध्ययनमा उल्लेख  र ९ प्रतिशतले घर बाहिरको काम तथा ११ दशमलव १ प्रतिशतले काम गर्नका लागि अरुको सहायता लिने गरेको अध्ययनमा उल्लेख छ । 

यसैगरी कोरोना संक्रमणपछि निको भएकाहरुको मानसिक अवस्थाबारे गरिएको अध्ययनमा १५ दशमलव १ प्रतिशतमा निको भइसकेपनि दिक्क लाग्ने र अनावश्यक विचारहरु आउने, ७ दशमलव ७ प्रतिशतमा नकारात्मक सोच आउने, २१ दशमलव ४ प्रतिशतमा कामको चिन्ता, १९ दशमलव २ प्रतिशतमा घरको चिन्ता, २९ दशमलव ६ प्रतिशतमा आर्थिक चिन्ता रहेको थियो भने कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ नआउँदा आफूलाई अलग राख्नुपर्दा मासिक आम्दानीको चिन्ताले सताएको पाइएको छ । यस्तै ८४ दशमलव ३ प्रतिशतले सामाजीक भेदभाव भोग्नुपरेको र आफन्त र प्रियजनबाट माया र स्नेह नपाएको पनि अध्ययनबाट पत्ता लागेको छ ।

Last modified on 2020-09-23 17:31:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts