नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५० हजार नजिक

काठमडौं, ७ असोज । नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५० हजार नजिक पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप १८ सय ९३ जना कोरोना संक्रमणपछि निको भएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको बताए । यो दर कुल संक्रमितको ७३ दशमलव ७ प्रतिशत हो ।
यस्तै पछिल्लो २४ घन्टामा ९ हजार ४ सय ४९ पिसिआर परीक्षण गरिएकोमा थप ११ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पनि डा गौतमले बताए ।
नेपालमा नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।
यस्तै हाल नेपालभर १७ हजार ४ सय १४ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ८ हजार २ सय २८ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ९ हजार २ सय ८६ जना होम आइसोलेसनमा रहेका छन् ।