प्लाज्मा दानका लागि उपत्यकामा साझा विशेष अभियान के हुँदैछ ?

काठमाडौं, ७ असोज । प्लाज्मा थेरापीका लागि उपत्यका साझा अभियानले गति लिएको छ । कोरोना संक्रमण पछि निको भएकाहरुको प्लाज्मा नयाँ संक्रमितको लागि अभाव नहोस भनेर प्लाज्मा तथा रगत संकलन गर्न विषेश अभियान गएको भदौबाट थालिएको थियो ।
अहिले सम्म ४० जनाले प्लाज्मा दान गरेको प्लाज़्मा अभियानका अभियन्ता अजित खड्काले हाम्रो डाक्टर न्यूजलाई बताए । प्लाज्मा दान गर्न चाहने र लिन चाहनेले अभियानमा सम्पर्क गरे सकेसम्म मिलाउने गरि अभियान सञ्चालन गरिएको उनले बताए ।
प्लाज्मा थेरापीको माध्यमबाट कोरोना संक्रमितको उपचार सफल हुँदै अहिले दैनिक १२, १३ जनाको प्लाज्मा माग भईरहेको छ, तर हामीसँग निको हुनेको डाटा नहुँदा समस्या भएको छ’ उनले भने । थप सहजताको लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय भएको र एक, दुईदिनमा नै संक्रमितको तथ्यांक उपलब्ध हुने उनले जनकारी दिए ।
यस्तै, अहिले काठमाडौको टिचिङ अस्पतालमा प्लाज्मा थेरापी गर्दा एकजनाको प्लाज्माले तीनजनालाई काम गर्ने भएपनि अरु अस्पतालमा भने एकजनाको प्लाज्माले एक जनालाई मात्रै काम गर्ने गरेको पाईएको छ । काठमाडौंका टिचिङ अस्पताल,ओम अस्पताल, वयोधा अस्पताल,पाटन अस्पताल, ह्याम्स अस्प्ताल लगायतका अस्पतालबाट माग धेरै हुने गरेको संयोजक खड्काले बताए ।अझै सहजताको लागी काठमाडौंका हरेक पालिकासँग समन्वय भएकोे उनले बताए ।
काठमाडौमा मात्रै नभएर आवश्यकता अनुसार देशको जुनसुकै ठाउँमा पनि पुग्ने उनको दाबी छ । नयाँ संक्रमितको लागि प्लाज्मा तथा रगतको अभाव भइरहेको बेला कसरी सहज बनाउन सकिन्छ भनेर अभियान सञ्चालन गरेको साझा पार्टीका केन्द्रिय सदस्य एवं साझा अभियानका संयोजक प्रकाशचन्द्र परियारले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए ।