डा केसीले टिचिङ अस्पताल पुगेर अनसन सुरु गरे

काठमाडौं, ६ असोज । डा गोविन्द केसीले टिचिङ अस्पताल पुगेर अनसन थालेकाछन् ।
दिउँसो ट्रमा सेन्टर पुर्याइएका डा केसीले साँझ सवा ६ बजे स्वेच्छिक डिस्चार्ज लिएका हुन्।
आज नेपालगन्जबाट काठमाडौं आएका उनले टिचिङ अस्पताल जान खोजेको भएपनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो।
डा केसीले म आफै गाडीबाट झर्छु भन्दा भन्दै प्रहरीले जबरजस्ती धरपकड गरेर उनलाई गाडीबाट तानेर ट्रमा सेन्टर लगेको केसीका सहयोगी प्रितम सुवेदीले बताए ।
ट्रमा सेन्टरमा डा केसीका समर्थकले वि आर विथ जिकेसी डा केसी एक्ला छैनौ, हामी तिम्रो साथ छौं लगायतका नारा लगाएका थिए।
डा केसीले टिचिङबाटै अनसन जारी राख्ने केसीका सहयोगी सुवेदीले बताए ।
विभिन्न ६ बुँदे माग राखी डा केसीले गत भदौ २९ गतेबाट अनसन सुरु गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पिसिआर परीक्षणलाई तिव्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने लगायतका माग डा केसीको माग छ ।