१६ वर्षका किशोरकिशोरीमा मानसिक समस्या बढ्दै



Download our app to get more features

काठमाडौं, ५ असोज । १६ वर्षका किशोरकिशोरीमा मानसिक समस्या बढी भएकाे पाइएको छ । १६ वर्षका ७ दशमलब ७ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको एक अध्ययनले देखाएकाे हो ।

परिषद्ले आज सार्वजनिक गरेको मानसिक स्वास्थ्य सर्वेक्षण रिपोर्टका अनुसार ५ दशमलब २ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या भएको पाइएको छ । यसैगरी प्रदेशगत हेर्दा सबैभन्दा बढी प्रदेश १ मा ११ दशमलब ४ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या भएको पाइएको छ ।

बागमती प्रदेशका लगभग ६ प्रतिशत वयस्कमा मानसिक समस्या देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनमा प्रदेशहरुमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा हाल ५ दशमलब ९ प्रतिशत वयस्कमा मानसिक समस्या रहेको पाइएको हो ।

१० प्रतिशत वयस्कमा आफनो जीवनकालको कुनै न कुनै समयमा र ४ दशमलब ३ प्रतिशत वयस्कमा हालको समयमा मानसिक समस्या रहेको देखाएको छ । यसैगरी परिषदले गरेको अनुसन्धानमा ३ प्रतिशत वयस्कमा उदासिनताको समस्या देखिएको छ । अहिलेकै अवस्थामा ६ दशमलब ५ प्रतिशत वयस्कमा आत्महत्याको सोच आएको पनि अध्ययनमा उल्लेख छ ।

उता मादक पदार्थका सेवनका कारण पनि मानसिक समस्या भएको देखिएको छ । ४ दशमलब २ प्रतिशत वयस्कमा मादक पदार्थको सेवनका कारण र शून्य दशमलब २ प्रतिशत वयस्कमा अन्य नशालु पदार्थको सेवनका कारण मानसिक समस्या भएको पाइएको परिषदले जनाएको छ । वयस्क महिला र पुरुषको तुलनामा महिलामा बढी मानसिक समस्या पाइएको छ । वयस्क महिलामा ५ दशमलब १ प्रतिशत र पुरुषमा ३ दशमलब ४ प्रतिशतमा मानसिक समस्या पाइएको छ ।

परिषद्ले जनवरी २०१९ देखि जनवरी २०२० सम्म गरेको ‘मानसिक स्वास्थ्य सर्वेक्षण’ को रिपोर्ट आज स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंह, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, परिषदमा कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवाली, यसैगरी परिषदका अध्यक्ष डा. अन्जनी कुमार झा लगायतको उपस्थितीमा भर्चुअल मिटिङ मार्फत सार्वजनिक गरिएको हो ।

सातै प्रदेशमा गरिएको मानसिक स्वास्थ्य सर्वेक्षणमा १५ हजार ८८ जनाको सर्वेक्षण गरिएको थियो । ९ हजार २ सय १८ वर्ष माथिका वयस्क थिए भने ५ हजार ८८८ जना १३ देखि १७ वर्षसम्मका किशोरकिशोरी सहभागी थिए।

Last modified on 2020-09-21 21:16:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts