किट अभाव र प्राविधिक समस्याका कारण चितवनका दुईवटा प्रयोगशालामा कोरोना परीक्षा रोकियो

चितवन, ५ असोज । चितवनको भरतपुर १० स्थित रहेका दुईवटा प्रयोगशालामा कोरोना परीक्षण रोकिएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आरटी पिसिआर किटको अभावका कारण आइतवार दिउँसोदेखि कोरोना परीक्षणको काम रोकिएको अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए ।
उनले प्रयोगशालामा अन्य कामहरू भने सञ्चालनमा नै रहेको बताए ।
किट खरिदको प्रक्रिया अघि बढी सकेको छ । किट उपलब्ध हुनासाथ पुनः कोरोना परीक्षण सुरू गरिने उनले बताए ।
प्रयोगशाला सञ्चालनको केही समयपछि किट अभावका कारण यसअघि पनि परीक्षण प्रभावित हुँदै आएको थियो । अहिले भने लामो समयदेखि यस प्रयोगशालामा किट अभाव भएको थिएन ।
उता चितवन मेडिकल कलेज (सीएमसी) ले सञ्चालन गरेको कोरोना प्रयोगशालामा समेत परीक्षण रोकिएको छ । प्राविधिक रूपमा केही समस्या देखिएका कारण गत तीन दिनदेखि कोरोना परीक्षण रोकिएको प्रयोगशालाका संयोजक डा. नविन कुमार चौधरीले जानकारी दिए ।
उनले प्रयोगशालामा देखिएको समस्या समाधानको प्रयास भैरहेको जनाएका छन् । अहिले भदौ १ गतेदेखि संकलन गरिएको नमुनाको कोरोना परीक्षण हुन सकेको छैन ।
उनका अनुसार प्राविधिक समस्याको समाधान गरी छिट्टै पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नियमित रुपमा सञ्चालनमा आएको १८ देखि २४ घण्टाभित्र अहिलेसम्म जम्मा भएका सबै नमुनाको परीक्षण सकिने संयोजक डा. चौधरीले बताए ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको समेत गरी चितवनका ३ वटा प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।