बैतडीमा निर्माण भएका प्रसुती भवनहरु स्वास्थ्यकर्मी र उपकरण अभावमा प्रयोगबिहिन

बैतडी, ३ असोज । बैतडीमा निर्माण भएका प्रसुती भवनहरु प्रयोगबिहिन बनेका छन् ।
आर्थिक वर्ष २०७५/७६ मा १८ वटा प्रसुती सेवा केन्द्र, शहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाई निर्माण भएका छन् । तर, स्वास्थ्यकर्मी र औषधि उपकरणको अभावमा ती भवन प्रयोगबिहिन बनेका छन् ।
जिल्लाको सुर्नया गाउँपालिका–३ बिजुलमा प्रसुती सेवा केन्द्र अहिले प्रयोगबिहिन अवस्थामा छ । कर्मचारी र आवश्यक उपकरणको अभावमा भवन प्रयोगमा ल्याउन नसकेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
यस्तै पाटन नगरपालिका १ र ८ मा निर्माण भएका शहरी स्वास्थ्य केन्द्र र प्रसुती सेवा केन्द्र पनि सञ्चालनमा आएका छैनन् । आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश सरकारको १२ देखि २० लाखको लागतमा बनेका ती भवनहरु अझै पनि सञ्चालन गर्न नसकिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराको भनाइ छ ।
यसैगरी, पञ्चेश्वर गाउँपालिका ४ निङलाडमा भएको सामुदायिक स्वास्थ्य इकाई र पुर्चौंडी नगरपालिका ४ भटनामा निर्माण भएको प्रसुती सेवा केन्द्र पनि सञ्चालनमा आउन सकेका छैनन् ।
१२ देखि २० लाखसम्म खर्च भएका ती भवन अहिले प्रयोगमा नआएको स्वास्थ्य कार्यालय बैतडीले समेत जानकारी दिएको छ ।
निर्माण भइसकेका ती प्रसुती सेवा केन्द्रहरु प्रयोगमा नआएपछि स्थानीयलाई सास्ती भएको छ । प्रसुती सेवाका लागि स्थानीयले सदरमुकाम धाउनुपर्ने बाध्यता उस्ताको उस्तै रहेको उनीहरुले गुनासो गरेका छन् ।