कोरोना संक्रमणपछि निको हुनेको संख्या ४५ हजार नाघ्यो, १२ सय ४ नयाँ संक्रमित थपिए

काठमाडौं, ३ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या ४५ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप १४ सय ४७ जना कोरोना संक्रमणपछि निको भएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा योसँगै कोरोना संक्रमणपछि निको हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको बताए । योसंख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।
यस्तै पछिल्लो २४ घन्टामा गरिएको १० हजार ३ सय ३३ पिसिआर परीक्षणमा थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता डा गौतमले नेपालमा नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको बताए ।
यस्तै हाल नेपालमा १७ हजार १ सय २९ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्नको संख्या ७ हजार ९ सय ७६ रहेको छ । यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ९ हजार १ सय ५३ रहेको छ ।