बागमति प्रदेशका पाँच जिल्लामा पाँच सयभन्दा बढी संक्रमित उपचाररत
नेपालका ६ जिल्लामा संक्रमण शून्य

काठमाडौं, ३ असोज । कोरोना भाइरसको संक्रमणका कारण सुरुदेखि नै उच्च जोखिममा रहेको प्रदेश नम्बर २ मा एक जिल्लामा मात्रै पाँच सयभन्दा बढी संक्रमित रहेको छ
संक्रमणको उच्च जोखिममा रहेको प्रदेश २ को ८ जिल्लामध्ये एक जिल्लामा मात्रै अब पाँच सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अन्य प्रदेश को तुलनामा प्रदेश २ को आठ वटै जिल्लामा कोरोना संक्रमणको दर उच्च रहेको र ८ वटै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेकोमा अब एक जिल्लामा मात्रै पाँच सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयको शुक्रवारको अध्यावधिक विवरण अनुसार प्रदेश २ को सिरहा जिल्लामा मात्रै ५ सयभन्दा बढी संक्रमित उपचाररत रहेका छन् । अन्य जिल्लामा पनि कोरोना संक्रमितको संख्यामा कमी हुँदै गएको मन्त्रालयले जनाएको छ ।
यस्तै पाँच सयभन्दा बढी संक्रमित रहेकोमा बागमित प्रदेश पहिलो स्थानमा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार बागमति प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र चितवन गरि ५ जिल्लामा पाँच सयभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका छन् ।
यसैगरी प्रदेश नम्बर एकको मोरङ र सुनसरी तथा प्रदेश ५ को रुपन्देहीमा पाँच सयभन्दा बढी संक्रमितको उपचार भइरहेको छ ।
यसैगरी कोरोना संक्रमित शून्य हुनेमा नेपालको ७७ मध्ये ६ जिल्ला रहेका छन् । जमा सबैभन्दा बढी कर्णाली प्रदेशको ३, प्रदेश १ को एक, बागमति प्रदेशको १ र गण्डकी प्रदेशको एक जिल्ला रहेको छ ।
प्रदेश एकको सोलुखुम्बु, बागमति प्रदेशको रसुवा, गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।